विराटनगर ७ पुस । पछिल्लो केही समय देखि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला संघीय सरकार र त्यसको नेतृत्वप्रति निकै आक्रामक देखिदै आउनु भएको छ । पत्रकार सम्मेलन देखि सभा सम्मेलनमा सरकारको विरोध नगरेको दिन नै हुँदैन । सरकारले काम गरेन, प्रधानमन्त्रीले काम गरेनन् भन्नमै अधिकांश समय खर्च गर्ने गर्नु भएको छ । हरेक भाषण सरकारको आलोचनामा वित्ने गरेको छ ।
पछिल्ला केही महिना यताका कोइरालाका भाषण हेर्ने हो भने सरकारले काम गर्न सकेन, जनतालाई सेवा दिन सकेन, माओवादी नेतृत्वको सरकार तत्काल परिवर्तनको आवस्यक छ भनेको भेटिन्छ । उहाँका हरेक भाषण यिनै कुराहरुमा केन्द्रीत हुने गरेको छ । पछिल्लो समय उहाँले हरेक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रगतिको रिपोर्ट चाहियो । प्रधानमन्त्रीले रिपोर्ट कार्ड देखाउनु परो भन्दै आउनु भएको छ ।
माओवादी नेतृत्वको सरकार तत्काल परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार गठनको आवाज उठाउँदै आउनु भएका नेता कोइरालाका लागि विराटनगरमा शुक्रबार मोरङ ब्यापार संघले आयोजना गरेको एक्स्पोमा प्रधानमन्त्री दाहालका सामु प्रश्न गर्ने र जवाफ लिने अवस्था थियो । एक्स्पो उद्घाटनमा सहभागी भएका धेरै व्यक्तिहरुलाई कोइरालाले यसअघि बोल्दै आएको कुराहरु दोहोर्याउँछन की दोहोर्याउँदैनन भन्ने चासो पनि थियो । प्रधानमन्त्री दाहाल अघि संवोधन गर्नु भएका कोइरालाले न सरकारको आलोचना गर्नुभयो । नत प्रधानमन्त्रीसँग रिपोर्ट कार्ड नै माग्नुभयो । छोटो मन्तव्य राख्नु भएका कोइरालाले प्रधानमन्त्री समक्ष एउटा मात्र गुनासो गर्नुभयो । सरकारको काम प्रति केही कुरा नै उल्लेख गर्नुभएन । उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीले विराटनगरको ऐतिहासिकतालाई हेरेर थोरै मायाँ गरिदिए पुग्छ ।’ त्यस बाहेक नेता कोइरालाले आर्थिक मन्दी लगायतका विषयको समाधानका लागि प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरवीच बैठक गर्न सुझाव दिनुभयो । सामान्य संवोधन मात्रै उहाँको रह्यो ।
कांग्रेस नेता डा. कोइरालाको बानी नै बाहिर मात्रै विरोध गर्ने रहेको कांग्रेसका एक नेता बताउँछन् । विरोध गरेको व्यक्ति सामुन्ने हुँदा चुपचाप हुने गरेको उनको भनाई छ । उनले भने,‘ कोइराला बाहिर विरोध गर्छन । संसद, पार्टी बैठकमा खास बोल्दैनन् ।’ औपचारिक थलोमा कुरा राख्न नसकेपछि बाहिर बोलेको केही अर्थ नहुने उनको भनाई छ । उनले भने,‘पार्टी सभापति शेरबहादुर देउवाको पनि बाहिर विरोध गर्ने तर बैठकमा चुपचाप हुने कोइरालाको बानी छ ।’