एमाले पहिचान विरोधी होइन, साझा पहिचानको पक्षमा अडिग छ : महासचिव पोखरेल

विराटनगर ३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्नु भएको छ । उहाँले एमाले साँझा पहिचानको पक्षमा अडिग रहेको बताउनुभयो ।

नेकपा एमाले मोरङले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ हामी जनतासँग जे भनेर जान्छौं, चुनाव जितेपछि पनि त्यही गर्छौ ।’ अन्य पार्टी जस्तो जनतालाई धोखा दिने काम एमालेबाट नहुने उहाँको भनाई छ । महासचिव पोखरेलले भन्नुभयो,‘ हामी चुनावमा एउटा कुरा र व्यवहारमा अर्को गर्दैनौं ।’ एमाले जहिल्यै साझा पहिचानको पक्षमा रहने उहाँको भनाई ।

कोशी प्रदेश नामकरणको सवालमा पनि एमालेले साझा पहिचान खोजेको पोखरेलले बताउनुभयो । नामकरणपछि बेइमान अरुले गरेको उहाँको भनाई छ । तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी नामको पक्षमा सहमति दिएको महासचिव पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,‘ देउवा र प्रचण्डले नाम जायज छ, अघि बढ्नुहोस् । हामी सहयोग गर्छौ भनेपछि नामकरण सफल भएको हो ।’ नामकरण पछि पक्षमा मतदान गर्नेहरुले बेइमान गरेको उहाँको भनाई छ ।

पहिचानवादीले आफ्ना माग एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत कार्यक्रममा राख्न नसकेको उहाँले बताउनुभयो । एमालेलाई विरोध नगरी स्वागत गर्दै आफ्ना माग नेतृत्व समक्ष राख्ने राम्रो अवसर पहिचानवादीले गुमाएको उहाँको भनाई छ । मुलकलाई समाधान दिने पार्टी एमाले मात्रै भएको उहाँको जिकिर छ । महासचिव पोखरेलले भन्नुभयो,‘ विप्लप , सिके राउतलाई मुलधारमा एमालेले ल्याएको हो ।’ मध्यपहाडी लोकमार्ग केन्द्रीत कार्यक्रममा ठुला सभा कोशी प्रदेशमा भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पहिचानवादीको अवरोध कसैले महसुस नगरेको पोखरेलको भनाई छ । उहाँले भन्नुभयो,‘ समाचारमा आए होलान, विज्ञप्तिमा आयो होला । यात्रामा सहभागिले विरोधको अनुभुति गर्न पाएन ।’ एमालेको यात्राले व्यवस्था परिवर्तनको माग गर्दै भइरहेको विरोधलाई विफल पारेको महासचिव पोखरेलको दावी छ । उहाँले भन्नुभयो,‘ सरकार असफल छ, यसको विरोध हुनुपर्ने हो ।’

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई सवै पक्षले सकारात्मक रुपमा लिएको महासचिव पोखरेलको भनाई छ । यात्राका क्रममा सामुहिक समस्या सडक, मुआब्जा लगायतका गुनासा, व्यवस्थित विकासका कुराहरु, मध्यपहाडी क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नका लागि विशेष मागहरु आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ मध्यपहाडी यात्रा ऐतिहासिक र अभुतपूर्व रह्यो ।’ एमालेले छिटै हुलाकी राजमार्ग केन्द्रीत अभियान पनि सञ्चालनको तयारी गरेको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।