विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो ।
ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे । कार्यशालाको अन्तिम दिन सोमबार विद्यार्थीले रकेटलाई उडाउने तयारी गरेका थिए । कार्यशालाबाट सिकेकाकुराहरुलाई प्रर्दशन गर्न चाहेपनि उनीहरुले पाएनन । ६ दिनको कार्यशालाबाट रकेट विषयमा थुप्रै जानकारी पाएको विद्यार्थी राहुल ठाकुरले बताउनुभयो । उहाँले रकेट तयार गरेपनि उडाउन नपाएकोमा खिन्नता प्रकट गर्नुभयो । सरकारले रकेट उडाउन पाउनेगरिको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
रकेट उडाउनका लागि सरकारबाट अनुमति नपाईएको कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ विद्यार्थीले कार्यशालाबाट १० हजार फिट माथि उड्ने रकेट बनाए तर संवन्धित निकायबाट उडाउने अनुमति पाएनौं ।’ उहाँले सरकारबाट विद्यार्थीले सिकेका कुराहरुलाई प्रर्दशन गर्न पाउने गरि नीतिगत व्यवस्था गर्न माग गर्नुभयो । उहाँले कुनै निश्चित स्थललाई सरकारले तोकिदिए विद्यार्थीलाई थप हौसला हुने बताउनुभयो । भोलीका देशका बैज्ञानिकहरुले सिकेका कुराहरुलाई देखाउने प्रवन्ध गर्न सरकार समक्ष आग्रह गर्नुभयो । उहाँले विराटनगरमा पहिलोपटक रोबोटिक क्लव पनि गठन गरिएको जानकारी दिनुभयो । प्रविन गिरीको अध्यक्षतामा क्लव गरिएको उहाँले बताउनुभयो । यसअघि कलेजमा स्ट्रोनोमी क्लव गठन गरिएको थियो ।
शिक्षादीप कलेजका अध्यक्ष तथा कोशी प्रदेश सभाका सांसद भीम पराजुलीले विद्यार्थीले सिकेका कुरालाई प्रर्दशन गर्न पाउने गरि नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । सरकारले नीतिगत व्यवस्था गरे विद्यार्थीको सीपको प्रर्दशनले व्यापकता पाउने पराजुलीले बताउनुभयो । उहाँले कोशी प्रदेशमा विज्ञान प्रविधिको क्षेत्रमा आवस्यक वजेटको प्रवन्ध गर्न पनि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ विज्ञान अनुसन्धानका लागि आवस्यक बजेटका लागि पहल गर्ने छु ।’
कार्यशालाबाट विद्यार्थीले विभिन्न आयामहरूमा ज्ञान हाँसिल गरेको कलेजका सञ्चालक तथा जीव विज्ञानका विभागिय प्रमुख रामचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षक प्रशिक्षण तालिम लिएका विद्यार्थीले अन्य विद्यार्थीलाई कार्यशालाबाट प्रशिक्षण दिनेछन् ।
ऋषिक इन्नोभेषनका शुशिलदेव भट्टले काठमाण्डौं उपत्यकापछि पहिलो पटक विराटनगरमा विज्ञान कार्यशाला आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हालसम्म एकसय जति कार्यशालाको सहजीकरण गरियो होला शिक्षादीपका जस्तो लगनशिल विद्यार्थी देखेका थिएनौं ।’ शिक्षादीपबाट थुप्रै युवा वैज्ञानिकहरु थपिने उहाँले आशा व्यक्त गर्नुभयो ।
विद्यार्थीहरु मोनालिसा यादव, सुरवी मण्डल, आश्विनी अधिकारी, सृष्टि श्रेष्ठ, सिम्रिका तिम्सिनाले ६ दिनको विज्ञान कार्यशालाबाट ब्रम्हाण्डलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको बताएका छन् । उनीहरुले शिक्षादीपमा कितावी ज्ञान मात्रै नभएर अन्य सीपहरु पनि सिक्न पाइने कलेज भएको बताए ।