विराटनगर २९ मंसिर । मोरङ जिल्लामा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका १०५ वटा घटना भएका छन् ।
सन् २०२३ जनवरी १ देखि नोबेम्बरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातिय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाहलगायतका घटनाहरुबाट १४३ जना पीडित भएको इन्सेकले अभिलेखीकरण गरेको मोरङ प्रतिनिधि विनोद सुवेदीले बताउनुभयो । इन्सेक विराटनगगरले आज आयोजना गरेको नेपाल मानवअधिकार वर्षपुस्तक २०२४ प्रकाशन पूर्ववार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि सुवेदीले मोरङमा जातिय विभेद, आफन्तजनबाटै हत्या, पहिचानको नामाकरणको विषयमा राज्य पक्ष र आन्दोलनकारीहरूवीचको झडपका क्रममा एक जनाको मृत्युसमेत भएको उल्लेख गर्नुभयो ।
अपाङ्गता भएका महिला र बालिकासमेत बलात्कार घटनामा पीडित भएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला कारागार मोरङका कैदी बन्दीहरूले स्वास्थ्य सेवा प्रभावकारी रुपमा नपाएको भन्दै आन्दोलन नै गर्नुले मोरङ कारागारका कैदी बन्दीले समुचित स्वास्थ्य सेवा नपाएको देखिएको जनाईएको छ । मानवअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि नेपाल मानवअधिकार वर्षपुस्तक प्रकाशन गर्दै आएको छ । यसै क्रममा संस्थाले सन् २०२३ जनवरी १ देखि नोबेम्बरसम्म करिब ११ महिनाको अवधिमा भएका घटनाहरुलाई अभिलेखीकरण गरी नेपाल ‘मानवअधिकार वर्षपुस्तक–२०२४’ प्रकाशन गर्ने तयारी गरिएको इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रतिनिधिहरुले घटनाको अभिलेखीकरण गरी अर्धवार्षिक र वार्षिक रुपमा जिल्ला स्थित सरोकारवाला निकायहरुसंग समीक्षा गर्ने गरिएको छ । अहिले कोशी प्रदेशका १४ वटै जिल्लाले समीक्षा गरिरहेको थापाले बताउनुभयो ।
पूर्ववार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, मानव अधिकार सञ्जालका विराटनगर अध्यक्ष विनोद पोखरेल लगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरुले प्रतिवेदनमाथि सुझाव दिएका थिए ।