विराटनगर २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको बताउनु भएको छ ।
मध्यपहाडी लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उहाँले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्वहरूले षडयन्त्र गरेर हटाएपछि देशमा राजनीतिक रूपमा अन्यौलता तर्फ अस्थिरता तर्फ गएको दाबी गर्नुभयोे । उहाँले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताउनुभयो । उहाँले भन्नुभयोे, राजनीतिक प्रवृत्ति होइन अराजनीतिक प्रवृत्ति छ ।
राजनीतिक माग होइन बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् । उहाँले एमालेको सरकारहँदा देशमा असाधारण तरिकाले विकास भइरहेको दाबी गर्नुभयोे । उहाँले वसन्तपुरको सभामा पनि यो सरकार आफ्नै कारणले ढल्ने बताउनुभयो । उहाँले ८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउनु सके मात्रै राष्ट्रियता र स्वाधीनतालाई जोगाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ एमालेले बहुमत ल्याउन सकेन भने राष्ट्रिय स्वधानितामा नै आँच पुग्छ । त्यसैले एमालेले ८४ मा एकल बहुमत ल्याउनु पर्छ ।’
अध्यक्ष ओलीले मिसन ८४ कै लागि सङ्कल्प यात्रा गरेको बताउनुभयो । ओलीले निर्वाहका लागि नभई धनी हुनका लागि कृषि पेसा अङ्गाल्नु पर्ने बताउनुभयो । उहाँले पश्चिमबाट पूर्व आउँदा समस्याहरू के रहेछन् ? सम्भावनाहरू के रहेछन् भन्ने कुरा थाहा पाएको बताउनुभयो । उहाँले विभिन्न पेसा व्यवसाय गरेका, पत्रकार बुद्धिजीवी प्राध्यापकहरूसँग अन्तरक्रिया गरेको बताउनुभयो । यो यात्राले उत्साहित भएको उहाँले बताउनुभयो ।