जाजरकोट भूकम्प पिडित विद्यार्थीलाई लायन्स क्लव अफ विराटनगर गुराँसको सहयोग

विराटनगर  २५ मंसिर । जाजकरकोट भूकम्प पिडित विद्यार्थीका लागि लायन्स क्लव अफ विराटनगर (एलसीबी) गुराँसले न्यानो पोशाक वितरण गरेको छ । गत कात्तिक १८ गते शुक्रबार राति गएको भूकम्पका कारण घरबाहिर हुन पुगेका स्कुले बालबालिकालाई लक्षित गर्दै एलसीबी गुराँसले ट्रयाकसुट वितरण गरेको हो ।

भूकम्पकको केन्द्रविन्दु रहेको भेरी नगरपालिकाका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको एलसीबी गुराँसका अध्यक्ष तथा नेकपा एमाले विराटनगर– ४ का अध्यक्ष नवराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट त्यस क्षेत्रका अधिकांश प्रभावित हुँदा अन्यका लागि सहयोग जुटेपनि विद्यार्थीका लागि खासै सहयोग नभएको पाएपछि एलसीबीले सानो सहयोग गरेको बताउनुभयो । शिव मावि कालेगाउँका तीन सय र हरिशिव प्रा.वि.गैरिगाउँका एक सय जना विद्यार्थीका लागि ट्रयाकसुट वितरण गरिएको हो ।

विद्यालय पूर्ण रुपमा क्षति भएपछि टिनका छाप्रा र खुला चौरमा पढ्नुपर्ने विद्यार्थीको बाध्यता हेरेपछि बालबालिकाको लागि सहयोग अझै आवश्यकता रहेको महशुष भएको  काफ्लेले बताउनुभयो । ‘हामीले गरेको सहयोग ठूलो हैन, तर यसरी नै सबैको ध्यान जान आवश्यक छ, काफ्लेले भन्नुभयो,‘जाडो बढ्दै जाँदा विद्यार्थीको अवस्था कस्तो होला भन्ने लागेर अमेरिका निवासी नारायण अधिकारीलगायत परिवारको सहयोगमा पोशाक वितरण गरेका हौं ।’  यसको लागि समन्वय क्लवका पूर्व अध्यक्ष गंगाबहादुर अधिकारीले गर्नुभएको थियो । पूर्व अध्यक्ष अधिकारी र काफ्ले आफैं जाजरकोट पुगेर शिव मावि कालेगाउँका विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको हो भने हरि शिव प्रावि.का लागि भेरी नगरपालिकाका प्रमुखलाई जिम्मा लगाएर फर्कनु भएको छ ।

पोशाक जिम्मा लिँदै नगर प्रमुख सिपी घर्ति मगरले विद्यार्थीका लागि एलसीबी गुराँसले गरेको सहयोग अति नै सराहनीय रहेको बताउनुभयो । उहाँले विद्यार्थीको लागि पोशाक भनेर सहयोग गरिएको यो नै पहिलो पटक भएको समेत बताउनुभयो ।