कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको नेता विरुद्ध हुने वित्तिकै कोहीबाट परिचालित भएको स्पष्ट छ ।’ उहाँले पहिचानवादीको आन्दोलन को बाट परिचालित हो भन्ने विषयमा भने खुलाउन चाहनु भएन ।

प्रदेश नामकरण विरुद्धको आन्दोलन सरकारप्रति लक्षित हुनुपर्ने उहाँको भनाई छ । प्रदेश सरकार (राज्य) सँग माग राख्न उहाँले सुझाव दिनुभयो । राष्ट्रिय अध्यक्ष विश्वासले भन्नुभयो,‘ आफ्ना माग पनि शान्तिपूर्ण ढङ्गले राख्नु पर्छ ।’ नेकपा एमालेले देशव्यापी कार्यक्रम गरेको र उसले कार्यक्रम गर्न पाउनु पर्ने उहाँको भनाई छ । संविधानले दिएको अधिकार कसैले अवरोध गर्न मिल्दैन उहाँले भन्नुभयो । कार्यक्रम सवैले गर्न पाउनु पर्ने अध्यक्ष विश्वासको भनाई छ ।

नेकपा एमालेले गत मंसिर १४ गते देखि तीन हप्ते मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ’ राष्ट्रिय अभियान शुरु गरेको छ । अभियान भोली देखि कोशी प्रदेश प्रवेश गर्दै छ । कोशी प्रदेश प्रवेश कार्यक्रमलाई लक्षित गरि पहिचानवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीले एमाले लक्षित विरोधको कार्यक्रम सार्वजनिक गरेको प्रति लक्षित गर्दै समावेशी समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष विश्वासले प्रतिपक्षी लक्षित आन्दोलन जायज नभएको बताउनुभयो ।

नामकरणमा आफ्नो पार्टीको पनि असहमति रहेपनि प्रतिपक्षी दल र यसको नेता विरुद्ध आफुहरु नरहेको उहाँले स्पष्ट पार्नुभयो । विराटनगरमा मंसिर २३ र २४ गते बसेको पार्टीको निर्णय सार्वजनिक गर्दै अध्यक्ष विश्वासले जातिय अन्र्तविरोध अन्त्यका लागि बहुल राष्ट्रिय वर्गिय, अन्र्तविरोध अन्त्यका लागि समावेशी समाजवाद भन्ने मुल उद्देश्य सहित पुस १४ गते शनिबार झापाको विर्तामोडबाट अभियानको शुरुवात गरिने बताउनुभयो ।