
विराटनगर २३ मंसिर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ ।
राष्ट्रिय अभियान मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताउनुभयो ।
एमाले कोशी प्रदेश कमिटीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा इन्चार्ज महासेठले पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला ।’ राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढीरहेको र चिवाभञ्ज्याङ पुगेरै छाड्ने नेता महासेठले दावी गर्नुभयो । राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको उहाँले बताउनुभयो । कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने उहाँको भनाई छ ।
एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ दवाव मुलक आन्दोलन गर्ने भए कोशी प्रदेशमा सभामा केन्द्रीत गर्न अनुरोध छ ।’ एमालेको १८७९ को यात्रामा पहिचानवादीको साइनो संवन्ध नजोडिने राईको भनाई छ । समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उहाँले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘ संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ ।’ असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहिन हुने अवस्थामा पुग्ने नेता राईको दावी छ ।
मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रीय अभियान आगामी मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम रहेको छ । मंसिर २६ गते पुस २ गते सम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनस्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेर्हथुमको बसन्तपुर, र पाँचथरको फिदिममा सभा हुने छ ।
अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताउनुभयो । एमालेको राष्ट्रिय अभियानलाई कोशी प्रदेशमा विभिन्न राजनीतिक दलहरुले स्वागत गर्ने कार्यक्रम राखेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । अभियानका क्रममा छलफल कार्यक्रम सर्वदलिय हुने उहाँले बताउनुभयो ।