आवश्यकता अनुसार मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकताअनुसार मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । शनिबार सुनसरीको देवानगञ्ज गाँउपालिकामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको प्राथमिकता मन्त्रिमण्डल विस्तार भन्दापनि नागरिकको सेवा र मानवीय विकास रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मन्त्रीमण्डल भनेको मुख्यमन्त्रीलाई चाहिने हात हो । मुख्यमन्त्रीलाई जहिले आवश्यक हुन्छ मन्त्रीमण्डल त्यहीबेला बन्छ । अहिले आवश्यक परे अहिले र भोली परे भोली नै मन्त्रीमण्डल बन्नेछ ।’

मुख्यमन्त्री कार्कीले मंसिर १७ गते नेपाली काँग्रेसका समशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी दिनु भएको थियो । त्यसयता, नेकपा माओवादी सहितका अन्य दलले मन्त्रिमण्डल विस्तारका लागि दबाव दिदै आएका छन् । यद्धपी, मुख्यमन्त्री कार्कीले भने प्रदेशमा नागरिकको कामलाई प्राथमिकता राख्दै मन्त्रिमण्डललाई आवश्यक्ता अनुसार पूर्णता दिने बताउँदै आउनु भएको छ । प्रदेश सरकार सञ्चालनका लागि अहिले अफट्यारो अवस्था नभएको बताउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयोे, ‘अहिले मुख्यमन्त्रीलाई काम गर्न गाह्रो छैन । सरकार चलाउन र काम गर्न अहिले अफ्ठ्यारो भएको छैन । सरकारको प्राथमिकता अहिले मन्त्रिमण्डल नभएर मानवीय विकास हो ।’

कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारले आफ्नो प्राथमिकता मानवीय विकासमा केन्द्रीत गर्दै आएको बताउनुभयो । उहाँले दिगो र गतिशील विकासका लागि मानवीय विकास अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयोे । मानवीय विकासअन्तर्गत शिक्षालाई जोड दिदैं प्रदेश सरकारले प्रत्येक गाँउपालिकाबाट कृषि र पशुको विषयमा अध्ययनका लागि समान एक जनालाई छात्रबृत्ति उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफू पदमा रहुनजेल गरिव जनताको पक्षमा रहेर काम गर्ने बताउनुभयो । ‘म पदमा रहुन्जेल गरिब जनताको पक्षमा रहेर काम गर्छु । तर कानुन बनाएर गर्छु, कानुन संगत गर्छु । उहाँले भन्नुभयो, जनताका पक्षमा काम गर्दा जेलै जान पर्छ भने म तयार छु,’ उहाँले भन्नुभयोे ।