जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जंगल र जंगली जनावरको संरक्षण गर्नु पर्ने बताउनु भएको छ ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जंगल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह् पर्यटकहरुको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले चाँडै मुख्यमन्त्री डेक्स मार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्वन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मूल्याङकन गरिने जानकारी दिनु भयो । उहाँले मानवीय विकासवाट भौतिक विकास हुने भएकोले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले जनताको ठूलो बलिदानबाट ल्याएको सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासन सहित समृद्धमा लाग्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो । पर्यटन,वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले इमान्दारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्यनमा सहयोग पुग्ने बताउनु भयो । उहाँले सम्झौता भएका योजनाहरुलाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारीहरु लाग्नु पर्नेमा जोड दिनु भयो । प्रदेशका प्रमुख सचिव डा दिपक काफ्लेले आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयन सहयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रदेश सरकारले पहाड तथा तराईका किसानहरुको बाली जोगाउन बाँदर विक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्नु पर्ने सुझाव दिनुभयो । मन्त्रालयका सचिव विशाल घिमिरे र वन निर्देशनालयका निमित्त निर्देशक धनन्जय लामिछानेले विदेशी काठ आयातलाई निरुत्साहित गरी राजश्व वृद्धि गर्न वन सम्वन्धी आवश्यक ऐन, कानून र नियम संशोधन गर्नुपर्नेमा जोड दिनु भयो ।