
विराटनगर २१ मंसिर । विराटनगर–७ स्थित सातघुम्ती मोडको कबाडी गोदाममा भएको आगलागीमा परी घाईते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । कबाडी गोदाममा आगलगाी हुँदा ५ जना घाइते भएका थिए ।
घाइतेमध्ये विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र महिला चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो । ती महिलाको तत्कालै पहिचान खुल्न सकेको थिएन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार अनुसन्धानका क्रममा मृत अवस्था भेटिएकी महिला विराटनगर–६ की ५५ वर्षीय सुशीला पासवान भएको खुलेको छ । घाइते ४ जनालाई थप उपचारका लागि विराटनगरबाट बुधबार साँझमा कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा विराटनगर–६ कि सुनिता कामतको गएराति साढे ८ बजेतिर मृत्यु भएको हो ।
आगलागीमा परी घाइते विराटनगर–६ कि ६० वर्षीय रिता सरदारको अवस्था गम्भीर रहेको छ । विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका– ६ कि ३० वर्षीय पिंकी कामतको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–७ सातघुम्तीमा आगलागीमा परि मृत्यु भएका दीपक मण्डलले आमाको नाममा दर्ता गरेर सञ्चालन गरेको अन्जुला कबाडी पसलमा आगलागी भएको हो । कर्कटपाताको छानो भएको कबाडी पसल र गोदाममा दिउँसो सवा २ बजेतिर सुरु भएको आगलागी साँझ ५ बजेतिर पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।
मृतक र घाइते कबाडी गोदामकै कामदार रहेको प्रहरीले जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।