विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर २ जनाको मृत्यु

विराटनगर २० मंसिर । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको हो ।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ । शवको पहिचान खुलेको छैन । मृतक महिला कि पुरुष भनेर छुट्टाउन पनि नसकिएको प्रहरीले जनाएको छ । उद्धारकर्ताहरूका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो । तर, आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आज दिउँसो सवा २ बजेतिर आगलागी सुरु भएको हो ।

आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । अन्य घाइतेमध्ये विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ की ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीको कारण खुल्न सकेको छैन ।