विराटनगर १८ मंसिर । ग्रीनल्याण्ड कलेज विराटनगरका ९ सय विद्यार्थीले विभिन्न विधामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएका छन् । २०७१ सालदेखि उच्च माध्यमिक शिक्षाको पठन पाठन शुरु गरेको कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । यस वर्षको एमवीवीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमै सवैभन्दा बढी ८ जना विद्यार्थीले पूर्णछात्रबृत्तिमा नाम निकाल्न सफल भएको कलेजका सञ्चालक राजीव मिश्राले जानकारी दिनुभयो ।
एमवीवीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ८ जना विद्यार्थीलाई मंगलबार सम्मान गर्दै कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी छात्रवृत्ति ग्रीनल्याण्ड कलेजका विद्यार्थीले पाएको सञ्चालक मिश्राले बताउनुभयो । यस वर्षको प्रवेश परीक्षामा सन्तोष साह, अमित यादव, सविना चौधरी, रोहनकुमार प्रभाकर, इशानसिंह यादव, आकृति वस्नेत, अनमोल झा र कृपा खड्काले पूर्ण छात्रृवृत्तिमा नाम निकालेको सञ्चालक मिश्राले बताउनुभयो ।
२०७१ देखि हालसम्म ७५ जना एमवीवीएस, ७० जना वीडिएस, वीएस्सी नर्सीङमा २०५, पारामेडिकल १५६, एग्रिकल्चरमा ७२, वीभीएस्सी ( भेटेरेनरी) मा ७२ र इन्जिनियरिङमा २५० जना ग्रीनल्याण्ड कलेजका विद्यार्थीले पूर्णछात्रबृत्तिमा नाम निकालेको मिश्राले जानकारी दिनुभयो । उहाँका अनुसारले कलेजले लगातार रुपमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । उहाँले भन्नुभयो,‘ ग्रीनल्याण्ड कलेजले फरक सोच र शैलीबाट अध्यापन गराउँदै आएको छ । हाम्रा विद्यार्थीले अन्तरराष्ट्रिय स्तरमा पनि पहिचान बनाउन सफल भएका छन् ।’ कलेजले नियमित कोर्ष बाहेकका अतिरिक्त कक्षाहरु पनि सञ्चालन गर्ने गरिएको मिश्राको भनाई छ । पूर्ण छात्रवृत्तिमा नाम निकालेका अमित यादव र कृपा खड्काले ग्रीनल्याण्डको पठन पाठन उत्कृष्ट रहेको बताए । एमवीवीएस प्रवेश परीक्षाको तयारीको लागि कलेजको सुपर ४८ कक्षा धेरै प्रभावकारी भएको उनीहरुले बताएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ग्रीनल्याण्ड कलेजले उत्कृष्ट शिक्षा दिईरहेको बताउनुभयो । पूर्ण छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई सम्मान गर्दै उहाँले विराटनगरलाई शैक्षिक हव वनाउनकाममा ग्रीनल्याण्डको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ यहाँ विराटनगरका विद्यार्थी मात्र नभएर कोशी प्रदेश र मधेश प्रदेशका विद्यार्थी अध्ययन गर्नु आउनु गौरवपूर्ण विषय हो ।’ उहाँले कलेजहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख कोइरालाले भन्नुभयो,‘ प्राविधिक शिक्षामा जोड दिन सके विद्यार्थीको विदेश पलायनलाई रोक्न सकिन्छ ।’