विराटनगर, ५ वैशाख । सत्तारुढ गठबन्धनले मोरङमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सहमति जुटाउने प्रयास जारी राखेको छ ।
नेताहरुले गठबन्धन सहमतिनजिक पुगेको बताएका छन् । भागबन्डा मिलाउन ४ दलद्धारा गठित कार्यदलले निस्कर्ष निकाल्न नसकेको प्रतिवेदन बुझाएपछि गठबन्धनको जिल्लास्तरीय संयन्त्रले सहमतिका लागि प्रयास जारी राखेको हो । संयन्त्रमा भएको छलफल सहमतिनजिक पुगेको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बताउनु भयो ।
गठबन्धन दलबीच लचकता अपनाएर अघि बढ्ने कुरामा सहमति भएको र भोलिसम्ममा निस्कर्षमा पुग्न सकिने उहाँको भनाइ छ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सचिव गणेश उप्रेती (सुशील)ले पनि सहमतिलाई अन्तिम रूप दिने तयारी गठबन्धन दलले गरिरहेको बताउनु भयो । ‘यसअघि जितेका स्थानीय तहलाई तत्काल थाती राखेर अरु पालिका बाँडफाँट गर्ने कुरामा सहमति भइसकेको छ,’ उहाँले भन्नु भयो, ‘कांग्रेस पनि सकारात्मक छ ।’
मोरङका १७ वटा पालिकामध्ये २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले १० पालिका जितेको थियो । एमालेले ५, माओवादी र जसपाले १–१ पालिका जितेका थिए । नेताहरुका अनुसार सुरुमा एमालेले जितेका स्थानीय तह बाँडफाँटको तयारी छ । त्यसबाहेकका स्थानीय तहमा गठबन्धन दलबीच सहमति नजुटे स्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने उप्रेतीले बताउनु भयो ।
एमालेले यसअघि पथरीशनिश्चरे र बेलबारी नगरपालिका तथा मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिका जितेको थियो ।