कोशी प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक ( वजेट) सर्वसम्मतिले पारित

विराटनगर १३ मंसिर । कोशी प्रदेशसभाबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक ( वजेट) सर्वसम्मतिले पारित भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका ८ जना प्रदेश सभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट पास भएको छ ।
विधेयकको विषयमा सदनमा छलफल चलिरहँदा आज ८ जना प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश सभा सदस्यहरू रेवती रमण भण्डारी, विदुर लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन्द पाठक, कमला दर्नाल, निरन राई, भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मुख्यमन्त्री केदार कार्कीले खर्च कटौतीको प्रस्तावमा फिर्ता लिन आग्रह गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए ।

मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।