विराटनगर, ४ वैशाख । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा भोलि सोमबारसम्म टुंगो लगाउने भएको छ ।
आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।
सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको छ । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।