विराटनगर ३ मंसिर । छठ पर्वको आज मुख्य दिन, आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ । तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि चार दिनसम्म मनाइन्छ । छठका लागि तराई–मधेस र काठमाडौं उपात्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ पारिएको छ । विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व अहिले पहाडी क्षेत्रमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।