विराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट हुने

विराटनगर, ४ वैशाख । विराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रम आयोजना हुने भएको छ । भोली बैशाख ५ गते उद्योग संगठन मोरङमा कार्यक्रम आयोजना हुन लागेको हो ।

लिभिङ विथ आइसिटि र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकले आज नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकारी गराएको छ । स्टार्टअप, फेस्टमा ३० बढी स्टार्टअप आईडिया तथा इन्नोभेसनहरु प्रदर्शन गरिने जनाइएको छ । यस कार्यक्रमले नवप्रवर्तक तथा इन्नोभेटरलाई एकैथलोमा समावेश गरी उद्यमशिलताको विकासमा सहकार्य गर्ने आइसिटि फाण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताउनुभयो । फेस्टले स्थानीय नवप्रर्वतक तथा इन्नोभेटरलाई प्रबद्र्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासका लागि सघाउ पुर्याउने आइटि विज्ञ हेमपाल श्रेष्ठले बताउनुभयो ।

दोश्रो कार्यक्रमका रुपमा आयोजना हुने डिजिटल प्रदेश संवादले डिजिटल नेपालको एजेण्डलाई अघि बढाउनेगरी डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई उजागर गर्ने जनाइएको छ । प्रदेशको विकास तथा ई गर्भनेन्सका काम, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल इकोसिस्टमका लागि आधार तयार गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । यसअघि यसप्रकारको कार्यक्रममा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सम्पन्न भइसकेको छ भने प्रदेश–१ को कार्यक्रमपश्चात सुदुरपश्चिम, कर्णाली र बागमती प्रदेशमा समेत कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ ।

हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी सातै प्रदेशको कार्यक्रम पश्चात काठमाडौंमा संचालन हुने बिजनेश इन्क्युवेसनमा उनीहरुलाई सहभागी गराउने जनाइएको छ । प्रदेशका उत्कृष्ट स्टार्टअप राष्ट्रिय बाणिज्य बैंकबाट १५ लाखसम्मको सहुलियपूर्ण कर्जा प्राप्त गर्नेछन् भने आइसिटी अवार्ड २०२२ मा उनीहरुलाई सम्मानसमेत प्रदान गरिने जनाइएको छ ।

कार्यक्रममा स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला र विद्यार्थीको सहभागिता रहने जनाइएको छ ।