कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने

विराटनगर २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको भण्डारीले बताउनुभयो । एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भित्र्याएपछि एमाले सत्ताबाट बाहिरिसकेको छ । एमालेले समर्थन फिर्ता लिने बित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था थियो ।