कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत

विराटनगर २० कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किनु भएको छ ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गर्नुभएको थियो । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताउनुभयो । राजनीति ट्रयाकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उहाँले बताउनुभयो । बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताउनुभयो ।

पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा असोज २८ मा दलको नेताबाट राजीनामा दिनुभएको थियो । केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि जिम्मेवारी फर्किएको उहाँले बताउनुभयो ।