निर्वाचन आचारसंहिता पालना गर्न मोरङका राजनीतिक दलहरु प्रतिबद्ध

विराटनगर, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वतन्त्र, पारदर्शि एवं निश्पक्ष बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्ला स्थित क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

छलफलमा दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिता विषयमा कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । मतदाता समेतलाई निर्वाचन आचार संहिता लाग्ने भएकाले निर्वाचन सम्बन्धमा निर्वाचन आयोगबाट जारी गरिएको आचार संहिता सबैले इमान्दारीपूर्वक पालना गर्न प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।

मोरङमा कुल स्थानीय तह १७ वटामा १५९ वडा रहेको, सबै स्थानीय पालिका गरी सात लाख १५ हजार २२३ मतदाता, भाग लिने राजनीतिक दल स्वतन्त्र बाहेक ३९, कुल मतदात स्थल ३००, मतदान केन्द्र ८२० रहेका छन् । सबै भन्दा बढी विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ र सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकामा २३ हजार ९९० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनमा कुनै पनि अनियमितता हुन नदिन जिल्ला प्रशासन कार्यालय सचेत रहेको भन्दै निर्वाचन आचार संहिता पालना गर्न सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सहभागी दलका प्रतिनिधिहरुले आचार संहिता पालना गर्ने र यसलाई ठूला दलबाटै भत्काउने काम हुने गरेको पाइएकाले यस तर्फ निर्वाचन आयोग र सुरक्षा निकायको ध्यान जानु पर्ने बताएका थिए ।