मुख्यमन्त्री बनाउन एमालेले गरेको सहयोग विर्सन सक्दिन : कार्की

विराटनगर १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताउनु भएको छ ।

नेकपा (एमाले)प्रति लक्षित गर्दै उहाँले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गर्नुभयो । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन गरेको सहयोग बिर्सन नसक्ने उहाँले बताउनुभयो ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री निवास कोशी प्रोजेक्टमा आज पत्रकारहरुसँग छलफल कार्यक्रमको आयोजना गर्दै उहाँले प्रदेशको समृद्धिका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले एमाले सरकारमा रहुनजेल माओवादी र एकीकृत समाजवादी आउन नचाहने तथा माओवादी सरकारमा आयो भने हामी निस्कन्छौं भनेर एमालेले भन्ने गरेको अवस्थालाई वार्ता र ‘टेबुल टक’ गरेर मिलाएको समेत दाबी गर्नुभयो । उहाँले सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गर्नुभएको छ ।

कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने तथा मुख्यमन्त्री भइसकेपछि विश्वासको मत दिने सबै प्रदेशसभा सदस्यप्रति आभार प्रकट गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने आफूले सरकारमा आउन आह्वान गरि नसकेको पनि उल्लेख गर्नुभयो ।

गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।