हुलाकी राजमार्ग अन्तरगत विराटनगर केशलिया सडक खण्डको काम असार मसान्त भित्रमा सम्पन्न गरिने

विराटनगर १६ कात्तिक । हुलाकी राजमार्ग अन्र्तगत विराटनगर केशलिया सडक खण्डको काम आगामी असार मसान्त भित्रमा सम्पन्न गरिने भएको छ ।

विराटनगर केशलिया सडक खण्डको करिव साढे ३ किलोमिटर सडकमा कालोपत्रे र नाला निर्माणको काम बाँकी रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक अजयकुमार मुलको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको बैठकले २०८१ असार मसान्त भित्रमा विराटनगर केशलिया सडक खण्डको निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको बैठकमा सहभागि नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार निर्माणाधिन सडकको डिजाईन लेभल आवस्यकता अनुसार परिमार्जनका लागि आवस्यक पहल अगाडी बढाउने पनि सहमति भएको छ । बैठकमा आयोजना निर्देशक मुल, आयोजनाका सिडिई माधवप्रसाद अधिकारी, इटहरी योजना प्रमुख बलिराज पन्त, निर्माण व्यवसायी देव एण्ड सायर /भूमी जेभीका बासुदेव उप्रेती र एमाले विराटनगर महानगर कमिटी अध्यक्ष थापाको उपस्थिति रहेको थियो ।

हुलाकी राजमार्ग अन्र्तगत विराटनगर केशलिया सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नगरेको भन्दै सो क्षेत्रका स्थानीयवासीहरु पटक–पटक आन्दोलित हुँदै आएका छन । तीनै तहका सरकारको ध्यानाकषर्ण गराउदा पनि सुनुवाई नभएपछि स्थानीयले बाटो हिड्न अफ्ठ्यारो भएको भन्दै विरोध जनाएका थिए ।

तराई–मधेसका २१ जिल्लाहरू जोड्ने राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना आर्थिक वर्ष २०६२–६३ सालबाट सुरु भएको हो ।