कोशी प्रदेश सरकार ४ वर्ष टिक्छ : डा. कोइराला

विराटनगर ९ कात्तिक । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा गठन भएको सरकार ४ वर्ष टिक्ने दाबी गर्नुभएको छ ।

विहीबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा डा कोइरालाले कोशी प्रदेशको सरकार मज्जाले ४ वर्ष टिक्ने दाबी गर्नुभएको हो । डा कोइरालाले कोशी प्रदेशसभामा भएको गणित अनुसार चल्न नजान्दा विगतका सरकार ढलेका कारण अहिले नयाँ समिकरण बनेको कोइरालाको भनाई छ । उहाँले गठबन्धनको मात्रै सरकार गठन भएको भए अहिलेको कोशीको सरकारले पनि विगतको सरकारकै अवस्था ब्योहोर्ने स्पष्ट पार्नुभयो ।

कोइरालाले कोशी प्रदेशको राजनीतिक अवस्थाले केन्द्र र अन्य प्रदेशको राजनीतिमा कुनै असर नपार्ने दाबी पनि गर्नुभयो । डा.कोइरालाले नेपालमा जातिय द्वन्द्व फैल्याउने प्रयास भइरहेको बताउँदै जातिय द्वन्द्व भड्किए नेपाल नै नरहेको बताउनुभयो । विराटनगर महानगरपालिकाका पूर्व मेयर रामकृष्ण भट्टराईले राप्रपा समायोजन भएर नेपाली कांग्रेसमा आएका नेताहरूलाई उचित स्थान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेस मोरङका कार्यबहाक सभापति भक्तीनाथ माझी लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।