आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

विराटनगर ४ कात्तिक । आज नवरात्रिको सातौं दिन अर्थात फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ ।

फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।