विराटनगर, २ कात्तिक । नेकपा एमाले मोरङले जनताको बहुदलीय जनबादको मार्गदर्शनका आधारमा मोरङ जिल्लाको समृद्धिको कार्ययोजना निर्माण गर्ने भएको छ । मङ्गलबार सम्पन्न एमाले मोरङको नवौ जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।
कार्य योजनाको प्रारम्भिक प्रस्ताव निर्माण गर्न बैठकले बेलबारी नगरपालिकाका प्रमुख डिपी राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल निर्माण गरेको छ ।
कार्यदलका सदस्यहरुमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, कानेपोखरी नगरपालिका अध्यक्ष राजमति इङ्नाम, विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरला कार्की र नेकपा एमाले मोरङकी उपसचिव शान्ति लिम्बू भूजेल रहनु भएको छ ।
समितिको सल्लाहकारमा कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुवोधराज प्याकुरेल, सप्तकोशी बैंकका पूर्व अध्यक्ष तारा निरौला, स्नातककोत्तर क्याम्पस विराटनगरका सहप्रध्यापक डिल्ली प्रसाई र नेपाल सरकारका पूर्व उपसचिव गणेशप्रसाद दाहाल रहनु भएको छ । उक्त कार्यदलले आगामी मङ्सिर मसान्त भित्र कार्ययोजनाको प्रस्ताव तयार पारी जिल्ला कमिटीमा बुझाइसक्नु पर्ने छ । एमालेले नेतृत्व गरेका स्थानीय तहहरुले सोही कार्ययोजनालाई आधार मान्र आगामी वर्षहरुमा विकास निर्माणका योजनाहरु निर्माण गर्नेछन् ।
पार्टीको मुल मार्गदर्शन सिद्धान्त जबज भएकाले त्यसैलाई आत्मसाथ गरेर समृद्धिको योजना निर्माण गर्ने परिपाटीको विकास गर्न कार्ययोजना निर्माण गर्न लागिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।
बैठकले अधिवेशन गर्न बाँकी रहेका जिल्ला भित्रका सबै वडा कमिटीहरु र जनसङ्गठनका पालिका कमिटीको अधिवेशन आगमी मङ्सिर मसान्त भित्र गर्न पालिका कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको प्रदेश अधिवेशन अगाडि नविकरण गर्न छुट भएका पार्टी सदस्यहरुको सदस्यता नविकारण तथा नयाँ पार्टी सदस्यहरुको सिफारिस आगमी मङ्सिर मसान्त भित्र गरिसक्न पनि निर्णय गरेको छ ।
पार्टीको बैचारक कामलाई व्यवस्थित गर्न जिल्ला स्कुल विभागले केन्द्रीय स्कुल विभागसँग समन्वय गरी प्रत्येक पालिकाबाट तीन जना स्थानीय प्रशिक्षक तयारी गर्ने गरी मङ्सिर मसान्तसम्ममा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आगमी कात्तिक २५ गते दशै, तिहार, छठ पर्व, इद र नेपाल सम्वत लगायतका पर्वको अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।