विराटनगर ८ द्धारा सुत्केरीका लागि कोशेली वितरण

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका वडा नंं ८ ले सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम शुरु गरेको छ ।

वीडीइसी नामक संस्थासँगको साझेदारीमा विराटनगर महानगरपालिकाले १९ वटै वडामा बाल स्वास्थ्य संवन्धि विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम अन्र्तगत विराटनगर ८ मा रहेका सुत्केरीहरुलाई कोशेली वितरण शुरु गरिएको हो । बच्चाका लागि कपडा, पौष्टिक तत्व लगायतको प्याकेज सुत्केरीलाई वितरण गरिएको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा भित्रका एक दर्जन बढीलाई कोशेली वितरण गरिएको छ ।

कोशेली वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीको टोली पनि सँगै गएको उहाँले बताउनुभयो । सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम प्रभावकारी देखिएको उहाँले बताउनुभयो । जनप्रतिनिधि सहितको टोली सुत्केरीलाई भेटगर्न जाँदा उहाँहरुमा वेग्लै खुशी देखिएको वडा सदस्य भुवन राजवंशीले बताउनुभयो ।

विराटनगर ८ ले स्वास्थ्यसँग संवन्धित विभिन्न कार्यक्रमहरु वडामा सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, घुम्ती स्वास्थ्य शिविर लगायतका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा रहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।