विराटनगरको मेयरमा कांग्रेसबाट ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

विराटनगर, ३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रको दल नेपाली कांग्रेसको विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समिति समक्ष आज सिफारिस गरेको हो । पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंका अनुसार मेयर र उपमेयरका सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।

विराटनगरको मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, विराटनगरका हालका मेयर भीम पराजुली, कांग्रेस मोरङका जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाईं, प्रदेश समिति सदस्य एवं पूर्वप्रशासकीय अधिकृत गोपाल रेग्मी र हालकी उपमेयर इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ । त्यस्तै उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, सूची चौधरी, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेलको प्रयास भइरहेका बेला कांग्रेसले भने एकल रूपमा पार्टीको केन्द्रीय समितिलाई प्रस्तावित उम्मेदवारको नाम सिफारिस गरेको हो । पार्टीका महानगर सभापति चापागाईंले विराटनगरमा कुनै दलसँग तालमेल नहुने र कांगे्रस एक्लै चुनावमा जाने स्पष्ट पार्नु भयो ।