विराटनगर २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्ट हटाउन एव विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नु भयो ।
अध्यक्ष थापाले सत्ताकेन्द्रीय फोहरी प्रतिस्पर्धा अलग्ग रही राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापनाको लागि जनआन्दोलन आवश्यक रहेको छ भन्दै समान विचारधारा भएको राप्रलालाई एकतामा आउन आव्हान समेत गर्नु भयो । मुलुकमा जातिय, धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
अध्यक्ष थापाले सरकारले मुलुकमा धर्म परिवर्तन र गौ हत्या जस्ता कार्य अविलम्व रोक्नपर्नेमा जोड दिनु भयो । उहाँले नेपालको परराष्ट्र नीति असंलग्न हुनु पर्ने बताउँदै छिमेकी मुलुकसँगको सम्बन्ध बरावर हैसियत हुनु आवश्यक रहेको विचार व्यक्त्त गर्नु भयो ।