अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचनामा भवन निर्माण गर्ने

विराटनगर २९ असोज । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचना ( युनिभर्सल डिजाईन) मा भवन निर्माण गर्ने भएको छ ।

कोशी प्रदेश सरकारको बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको आज शिलान्यास गरिएको छ ।

एक कठ्ठा २ धुरमा निर्माण हुने भवन २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । विराटनगर १२ मा शिलान्यास गरिएको भवन चार तलाको हुने राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नविन ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वमान्य संरचनाको भवन पहिलो पटक विराटनगरमा बन्न लागेको उहाँले बताउनुभयो । ढुङ्गेलले भन्नुभयो,‘ हालसम्म सर्वमान्य संरचनाको भवन नेपालमा बनेको छैन ।’

भवन निर्माणको ठेक्का रंगेली/गोप जेभी, काठमाण्डौंले पाएको छ । भ्याट बाहेक ३ करोड ६ लाख ७३ हजार ९५३ रुपैयाँ ३३ पैशामा भवन निर्माणको ठेक्का लागेको राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष राम कार्कीले बताउनुभयो ।

भवन निर्माणका लागि अपाङ्ग महासंघले ६ धुर जग्गा खरिद गरेको थियो भने बाँकी विराटनगर महानगरपालिकाले उपलब्ध गराएको पूर्वअध्यक्ष कार्कीले बताउनुभयो ।