विराटनगर २२ असोज । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश दाहालले प्राध्यापक र कर्मचारीको वृत्ति विकासको प्रकृया दशैं तिहार पछि शुरू गर्ने बताउनु भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सोमवार विराटनगरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षक तथा कर्मचारीको वृत्ति विकासका विषयमा आयोग सवेदनशील भएको बताउनुभयो ।
विभिन्न निकायबाट आएको दरबन्दीका विषयमा अध्ययन भइरहेको भन्दै अध्यक्ष दाहालले यो विषयलाई छिट्टै टुङ्ग्याउने जानकारी दिनुभयो । एमफिल तथा पी.एच.डी. कार्यक्रमका निर्देशन डा. उत्तमराज रेग्मीले शुभकामना मन्तव्यका क्रममा शिक्षक कर्मचारीको वृत्ति विकासका काम विश्वविद्यालयले चाँडो अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो । डा. रेग्मीको प्रत्युत्तरमा अध्यक्ष दाहालले वृत्ति विकासको काम छिट्टै अघि बढ्ने जानकारी दिनुभयो ।
प्राध्यापक संघका केन्द्रीय सभापति यज्ञप्रसाद जमरकट्टेल, योजना महाशाखा प्रमुख डा. कोमल दुलाल, अनुसन्धान विभागका प्रमुख प्रा. डा. मीन प्रसाद ढकाल, डीन देवी प्रसाद भट्टराई लगायतले शुभकामना दिनुभएको थियो । नेपालीहरूको महान चाड वडा दशैं, तिहार र छठ पर्वका अवसरमा पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।