विराटनगर २२ असोज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार गठनमा एमालेको दावी नरहने बताउनु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ मा एमालेको दावी नरहेको उहाँको भनाई छ । उहाँले प्रदेशसभामा रहेका दलहरुसँग सहकार्यका लागि खुल्ला रहेको बताउनुभयो ।
दलहरुबीच सहमति बन्न नसक्दा प्रदेशमा फरक सन्देश गएको उहाँको भनाई छ । एमाले काँग्रेससंग मिलेर सहकार्यमा सरकार अघि बढाउन तयार रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ यसका लागि पार्टीले संस्थागत रुपमा तोकिएको ब्यक्तिलाई एमालेले छान्नेछ । पार्टीलाई छाडेर ब्यक्तिगत रुपमा साथ दिन सकिने छैन ।’ काँग्रेस समक्ष सहकार्यका लागि खुला रहेको भन्दै कार्कीले काँग्रेसले साथ नदिए माओवादीसंगपनि विकल्प यथावत रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयोे, ‘सहमतिय सरकारका लागि काँग्रेससंग एमाले तयार रहेको छ । काँग्रेसले सहमति गर्न नचाहे त्यो विकल्प माओवादीसंगपनि खुला छ ।’
प्रदेशको राजनीति घटनाक्रमले नागरिकमा समेत वितृष्णा उत्पन्न हुन थालेको मन्दै मुख्यमन्त्री कार्कीले दलहरुले सुझबुझसहित निर्णय गर्नुपर्ने आवश्यक्ता रहेको प्रष्ट पार्नुभयो । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ बमो दोस्रोपटक मुख्यमन्त्री हुनुभएका कार्कीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभएपछि असोज २० गते राजीनामा दिनुभएको थियो ।
कार्कीले विश्वासको मत हासिल गर्न नसक्दा प्रदेश सरकार संविधानको धारा १६८ को उपधारा ५ तर्फ अघि बढेको हो । प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादी ४ र जसपाको १ सांसद रहेका छन् ।