विराटनगर, ३ वैशाख । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन लागी मोरङ जिल्लाका संवेदनशिल मतदान स्थल तथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।
पहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भैगोलिक विकटता तथा सडकको पहुच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थललाई संवेदनशिल देखिएको विश्लेषण गर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एंव मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताउनुभयो ।
अनुगमनको क्रममा मतदानकेन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधी तथा स्थानिय समुदायसंग समन्वयगर्दै सुरक्षा समितिले छलफल सुझाव समेत लिएको प्रमुख जिल्ला अधिकारी दाहालले वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहाल सहित मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर , ३ न गण हेडक्वाटर टंकिसिनवारीका सशत्र प्रहरी उपरिक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एंव उप अनुसन्धान निर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिती सम्मिलित टोलीले मतदान स्थलको अनुगमन गरेको हो ।
स्थानीयतहको निर्वाचनका लागि विद्यालय तथा वडा कार्यालयहरुलाई मतदान स्थल तोकिएको छ । अनगमनको क्रममा केहि मतदान स्थल सागुरो रहेकाले त्यसलाई व्यवस्थित गरिने जनाइको छ । मिक्लाजुङ गाउपालिका सहित केहि पालिकाको विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितिले जनाएको छ ।
मोरङ जिल्लामा स्थानियतहमा निर्वाचनका लागी ३ सय मतदान स्थल तथा ८ सय २० मतदानकेन्द्र मतदानका लागि तोकिएको छ । सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ वटालाई अति संवेदनशिल १ सय ५५ वटालाई संवेदनशिल तथा ९६ वटालाई सामान्य मतदान स्थलको रुपमा विश्लेषण गरिएको छ । यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदानकेन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले वताउनुभयो ।
सुरक्षा समितिले सवैपालिकाको मतदान स्थल तथा केन्द्रको अनुगमन गरि सोहि अनुसार सुरक्षा रणनीती तयार गर्ने जनाएको छ । अहिले सम्म १ सयभन्दा वढि मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सवै मतदान स्थल मतदाताका लागी पायक पर्ने स्थानमा रहेको वताइएको छ ।
भौलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सवै मतपेटिकाहरुलाई मतगणना स्थलसम्म तत्काल सहज रुपले पुर्याउनेगरि सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ ।