पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : अध्यक्ष ओली

विराटनगर १९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ ।

विपक्षी र सञ्चार माध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उहाँले कुरा मिलेन भने स्वस्थ प्रतिष्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चार माध्यमप्रति पनि गुनासो गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो । कसैको पनि मन नदुखाईकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाई थियो । उहाँले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनैपनि खालको निर्देशन नदिएको पनि दोहोर्‍याउनुभयो ।