अधिकारबारे सचेत गराउँदै मानव अधिकार समूह

विराटनगर १९ असोज । मोरङ रतुवामाईका तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुन । उनलाई मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरुका विषयमा पूर्ण जानकारी थिएन ।

स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उनलाई यस विषयमा धेरै जानकारी भयो । पछिल्लो २ वर्षमा उनी नेतृत्वको समूहले नगरपालिका भित्र मानव अधिकार शिक्षा, सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार, सरसफाइ, जनचेतना मुलक सडक, लगायतका काम गरेर सचेतना र जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै लगेको छ । अध्यक्ष भण्डारीका अनुसार विद्यालय भर्ना हुने नसकेका ५ जना अपाङ्गता भएका बालबालिकालाई पनि विद्यालय भर्नामा सहजीकरण गरिएको छ । मानव अधिकार समूह गठनपछि अधिकारका क्षेत्रमा धेरै सुधार भएको उनको भनाई छ । विहीबार सुनसरीको बर्जु तालमा आयोजित मानव अधिकार समूह सदस्यहरूको अन्तरसमुह भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रममा उनले सो प्रगति सुनाएका हुन ।

कार्यक्रममा सुनवर्षी नगरपालिकामा गठित मानव अधिकार समूह अध्यक्ष लक्ष्मण बुढाथोकीले एक वर्षको अवधिमा मानव अधिकारका क्षेत्रमा धेरै कार्य गरिएको बताए । उनले विद्यालयको शौचालको सुधार, बालबालिकाको शिक्षाको अधिकार, जनचेतना गोष्ठी लगायका कार्य गरिएको बताए । स्वास्थ चौकीको अवस्था लगायतबारे अध्ययन गरि संवन्धित निकायसँग छलफल गरि सुधार गरिएको अध्यक्ष बुढाथोकीको भनाई छ । उनले समुहलाइ सशक्त बनाउदै लगिएको बताए ।

देवानगञ्ज गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डलले शिक्षा, स्वास्थ्य, जातिय विभेद, बालबालिका र वातावरण अधिकारका विषयमा स्थानीयबासीहरुलाई सचेतना गराउने कार्य गरिएको बताए । उनले मानव अधिकारका विभिन्न सवालहरुमा स्थानीय तहका प्रमुखको ध्यानाकर्षण गराउने काम समेत गरिएको बताए । बर्जु गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरी मानव अधिकार समूहको गठन पछि पहिलेको तुलनामा धेरै सुधार आएको बताए । गाउँपालिकाले पनि मानव अधिकार समूहसँग समन्वय गरेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने गरेको  बताए ।

इन्सेकले कोशी प्रदेशका मोरङ र सुनसरीका चारवटा स्थानीय तहहरुमा मानव अधिकार समूह गठन गरि स्थानीय निकायलाई सचेतपार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गर्दै आएको कार्यक्रम अधिकृत बागमति कट्टेलले बताईन । उनले इएलपी कार्यक्रम सञ्चालन पछि स्थानीय तहहरुमा मानव अधिकार समूहले अधिकारका सवालमा धेरै काम गरेको बताईन ।

बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायले मानव अधिकार समूहले शिक्षा, स्वास्थमा पहुँच नभएकाहरूको खोजी गर्न सहयोग गर्न आग्रह गरे । उनले शिक्षा, स्वास्थमा पहुँच नभएकाहरूको लागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । मानव अधिकार समूहको गठन पछि मानव अधिकारका सवालमा धेरै जानकारी प्राप्त भएको उनले बताए । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले मानव अधिकारका हरेक सवालमा साँझेदारीमा कार्यक्रम गर्न तयार रहेको बताए । मानव अधिकार समूहका हरेक योजनालाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाले मानव अधिकार समूहहरुले अधिकारका सवालमा महत्वपूर्ण कार्यहरु गरेको बताए । मानव अधिकार समूहको गठनपछि अधिकारका सवालमा स्थानीयबासीहरु सचेत बन्दै गएको बताए । मानव अधिकार समूहवीचको अनुभव आदान प्रदानले आगामी दिनमा समूहहरुलाई काम गर्न योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले मानव अधिकार सचेतना कार्यक्रम ग्रामीण सहित हरेक क्षेत्रमा जरुरी रहेको बताईन । सुनसरी र मोरङका मानव अधिकार समूह सदस्यहरुको अन्तर समूह भ्रमण तथा अनुभव आदान प्रदान विषयक कार्यक्रममा उनले स्थानीय स्तरमा मानव अधिकार समूहले सचेतनामुलक धेरै काम गर्न सक्ने बताईन । मानव अधिकार सचेतनाका लागि सहयोग गर्न प्रदेश सरकार पनि तयार रहेको उनले बताईन ।