कोशी प्रदेशमा एमालेको उचाई बढाउने छु : अध्यक्ष खतिवडा

विराटनगर १७ असोज । नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष घनश्याम खतिवडाले एमालेको उचाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कोशी प्रदेशमा सवैको रोजाईको पार्टी एमाले बनाउने बताउनुभयो ।

विराटनगरमा आज आयोजित सपथ ग्रहण समारोहमा अध्यक्ष खतिवडाले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले अघि सारेका नीतिहरुलाई कार्यान्वयन गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष खतिवडाले भन्नुभयो,‘ मिसन ०८४ का लागि योजनाबद्ध कार्यक्रम अघि सार्दै अघि बढ्ने छु ।’

नेकपा एमालेको उपस्थितिलाई वडा देखि प्रदेश सम्म नै कम्तीमा ५१ प्रतिशतमा पुर्याउन लागि पर्ने बताउनुभयो । मिसन ग्रासरुटका आधारमा मिसन ०८४ लाई केन्द्रीत गरेर पार्टीका गतिविधिहरु बढाईने उहाँले बताउनुभयो । प्रदेशका १३७ वटै स्थानीय तहमा एमालेका गतिविधिहरु बढाईने अध्यक्ष खतिवडाले बताउनुभयो । चार दशक बढीको राजनीतिक जीवनमा अहिले सम्मकै उच्च पदमा पुगेको भन्दै उहाँले आफ्ना कामले पार्टीको शिर निहुरिन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले पुरा गर्न नसकिने प्रतिबद्धता आफुले नगर्ने पनि बताउनुभयो ।

सपथ ग्रहण समारोहमा अध्यक्ष खतिवडाले धेरै योजना बनाउने भन्दा पनि थोरै योजना बनाउँदै सम्पन्न गर्दै अघि बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष खतिवडाले भन्नुभयो,‘ एक कार्यकाल प्रतिनिधिसभा सदस्य भएको अनुभव म सँग छ । प्रतिनिधिसभा सदस्य भएर प्राप्त गरेको अनुभवले पार्टीको कामलाई थप सहयोग गर्ने छ ।’ निवर्तमान प्रदेश कमिटीले गरेका राम्रा काम तथा अभियानलाई निरन्तरता दिईने उहाँले बतानुभयो ।

विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेश अधिवेशनमा खतिवडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । खतिवडाको अध्यक्षतामा २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ । निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रदेश कमिटीका इन्चार्ज एमाले सचिव रघुवीर महासेठले सपथ गराउनु भएको थियो ।