एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

विराटनगर १६ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी विराटनगरका विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित हुनु भएको हो ।

खतिवडाले ५१२ मत प्राप्त गर्नुभएको छ भने ढकालले ४३० मत ल्याउनुभयो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उहाँको एकल उम्मेदवारी थियो । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित हुनु भएको छ । उहाँले ५२४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्दी उदयपुरका शैलेश लामाले ३८१ मत ल्याउनुभयो । उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याउनुभयो । दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा थिए । पदाधिकारीमा निर्वाचित भएका सबैजना खतिवडा समूहका हुन् ।

अधिवेशनमा ९९७ जना प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका थिए । २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ पदका लागि निर्वाचन भएको थियो । ७३ जना निर्विरोध भएका थिए । निर्वाचनमा ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन कमिटीले जनाएको छ ।