एमाले कोशी प्रदेश अध्यक्षका लागि खतिवडा र ढकालको उम्मेदवारी

विराटनगर १३ असोज । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य शिवमाया तुम्बाहाङ्फेले अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो । यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । चेम्जुङ र लामा प्रदेश कमिटीका निवर्तमान उपाध्यक्ष र उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । एमाले कोशी प्रदेश अधिवेशनले नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय छुट्याइएको छ । अध्यक्ष पदका प्रत्याशी खतिवडाले उम्मेदवारी दर्ता गराएको र भोलि निर्वाचन हुने बताउनुभयो । उहाँले पार्टीको आन्तरिक निर्वाचन भएकाले सकेसम्म समझदारीको प्रयास गरिने पनि जानकारी दिनुभयो ।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ । यसैवीच कोशी प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट निर्विरोध सदस्य निर्वाचित भएका छन् । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुल्लातर्फ जयप्रकाश राई, ध्रुव श्रेष्ठ, गणेशप्रसाद बराल, ओमनारायण रणपाल, काजीमान कागते, याम अधिकारी, केशवकुमार धौराली, कृष्ण शाह, देवेन्द्र विश्वकर्मा र युवातर्फ राजकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिलातर्फ टीका घिमिरे, विन्दु विश्वकर्मा, रिम्पल राई, शकुन्तला लेप्चा र शावित्रा सिवा निर्वाचित भए ।