एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित : ओली

विराटनगर १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेरबहादुर पटक–पटक प्रधनमन्त्री भए पनि केही नगरेको बताउनु भएको छ । उहाँले उनीहरु प्रधानमन्त्री मात्रै भएको तर जनताका लागि केही नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयोे, ‘उहाँहरुले महिलाका लागि केही गर्नु भो? शिक्षामा केही गर्नु भो ? उहाँ हरुले केही गर्नु भएन ।’ उहाँले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको बताउनुभयो ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक, महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताउनुभयो । अशक्त अपंगता भएकाहरुलाई सम्झने एमाले मात्रै भएको भन्दै आफू नेतृत्वको सरकारले गरेको कामको व्याख्या गर्नुभयोे । उहाँले आफुले गरेको कामले विरोधीहरु आत्तिएको बताउनुभयो ।

कोशी प्रदेशमा भौगोलिक विविधता रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले वेदको र गायत्री मन्त्रको रचना पनि कोशी प्रदेशमा भएको दाबी गर्नुभयोे । उहाँले मुन्धुमको रचनासमेत कोशी प्रदेशमा भएको दाबी गर्नुभयोे । २८ सय वर्ष अघि चरक ऋषिले पहिलो पटक यसै प्रदेशमा शल्यक्रिया गरेको दाबी गर्दै त्यो समयपछि शल्यक्रिया गरेर बिरामीको उपचार भइरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले कोशी प्रदेश शिव र बिश्वमित्रको तपश्या गरेको भूमि भएको पनि उल्लेख गर्नुभयोे ।

ओलीले सबैभन्दा पहिला ज्ञानको सुरूवात यसै प्रदेशबाट भएको भन्दै अहिको यो प्रदेश पछि परेको बताउनुभयो । उहाँले यस्तो पवित्र भूमिको विकासको जिम्मा एमालेको काँधमा आएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘सबैभन्दा पहिला मजदुर आन्दोलनको सुरूवात भएको औद्योगिक राजधानी भएको यो प्रदेशको विकास अरु राजनीतिक दलहरुले गर्छन् भनेर एमाले भाग्न सक्दैन ।’ उहाँले अब यस्तो ठाउँको विकास पछाडि पर्न दिन नहुने बताउनुभयो । यसका लागि एमालेको अधिवेशनले यस्तै खाले नेतृत्व छान्नुपर्ने बताउनुभयो । कोशी प्रदेशको राजनैतिक आन्दोलनको व्याख्या गर्दै उहाँले यस प्रदेशले नया चेतना फैलाउदै आएको बताउनुभयो ।