प्रचण्ड बोलिको ठेगान नभएको नेता : नारायणमान विजुक्छे

विराटनगर ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलिको ठेगान नभएको नेता भएको बताउनु भएको छ ।

पदका लागि दाहाल जे गर्न पनि तयार हुने नेता भएको उहाँको भनाई छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्त अनुसार चल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कम्युनिष्टहरु पुँजीवादी भए ।’ उहाँले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

संघीयता कार्यान्वयनका लागि पनि स्थानीय सरकार अधिकार सम्पन्न हुनुपर्ने उहाँको भनाई छ । उहाँले साना तथा मझौला प्रकृतीका योजनाहरु प्रदेश र स्थानीय सरकारबाट सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ साना तथा मझौला योजनामा संघीइ सरकारले ध्यान दिनुभएन ।’ अध्यक्ष विजुक्छेले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुका लागि काठमाण्डौंमा आवास निर्माण गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ मुख्यमन्त्री, प्रदेश प्रमुखका लागि संवन्धित प्रदेशमै आवास निर्माण गर्नुपर्ने थियो ।’

अध्यक्ष बिजुक्छेले समाजमा साम्प्रदायिक सद्भाव कायम गर्न एक अर्काले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्ने जोड दिनु भयो । उहाँले पार्टीको संगठन विस्तारका लागि तराई, पहाड र हिमालका घरघरमा कार्यकर्ताहरुले विधारधारा पुर्याउने कार्य अहिलेदेखि सुरुवात गरेको जानकारी दिनु भयो ।