विराटनगर ८ असोज । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको बताउनु भएको छ ।
आज गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको बताउनुभयो ।
प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उहाँको भनाइ छ । उहाँले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नामकरणमा मतदान गर्दा गल्ती भयो भन्ने लागे पनि बाहिर भन्न नमिल्ने बताउनुभयो ।
पहिचानको आन्दोलनको नाममा नेकपा एमालेप्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । कोशीमा सामाजिक सद्भाव भड्किन नदिन प्रमुख राजनीतिक दलको केन्द्रीय नेतृत्व र प्रदेश नेतृत्वले सामूहिक प्रतिवद्धता जनाउनुपर्ने उहाँले बताउनुभयो ।