तीन जना नगर प्रहरीलाई विराटनगर महानगरले जिम्मेवारीबाट हटायो

विराटनगर २ असोज । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ ।

नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जिम्मेवारीबाट हटाएको हो ।

जिम्मवारी खोसिएकामा नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरील रहेका छन् । गत भदौ २७ गते विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए ।

वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।

भदौ ३१ गते महानगरका प्रमुख कोइरालालाई छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी दिएको थियो । त्यसैको आधारमा कोइरालाले तीन जना नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएको प्रेस बिज्ञप्ती जारी गरी जानकारी गराएको छ ।