विराटनगर २६ भदौ । मोरङ र सुनसरीका स्थानीय तहहरुमा विपद् सम्वन्धीको योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने भएको छ ।
स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ( हर्ड नेपाल ) ले स्थानीय तहमा विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने कार्यमा सहजीकरण गरिने हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्को योजना तयारी गर्दा लक्षित वर्गका रुपमा गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई केन्द्रीत गरिने छ ।
बंगलादेशबाट आएका एमडी सारिफुल आलम र सविना यास्मीनले मोरङ र सुनसरीका स्थानीय तहका विपद् हेर्ने प्रतिनिधिहरुलाई तीन दिने स्पेयर स्ट्यान्डर्ड प्रशिक्षक प्रशिक्षण तालिम दिएको अध्यक्ष यादवले बताउनुभयो । विपद् व्यवस्थापन, विपद्बाट हुने मानवीय क्षति र क्षति भईसकेपछिको घटना व्यवस्थापन लगायतका विषयमा कोशी प्रदेशमै पहिलो पटक स्पेयर स्ट्यान्डर्डको प्रशिक्षण दिईएको उहाँको भनाई छ ।
तीन दिने तालिमको समापन कार्यक्रममा कोशी प्रदेशका सांसद भीम पराजुलीले विपद् संवन्धी कार्यका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । विपद्को पूर्व तयारी र विपद् पछिको तयारीका लागि राम्रो योजना लिएर आउन उहाँले आग्रह गर्नुभयो । प्रदेश सांसद पराजुलीले भन्नुभयो,‘ योजना लिएर आउनुहोस् सरकारसँग पहल गर्ने काम मेरो भयो ।’
समापन कार्यक्रममा धनपालथान गाउँपालिका उपप्रमुख नासिमा बानो, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेन लगायतको उपस्थिति रहेको थियो ।
मोरङ र सुनसरी विशेष गरि बाढी, पहिरो, महामारी, आगलागी लगायतका विपद्का बढी घटनाहरु हुने जिल्लाका रुपमा लिईने गरिएको छ ।