विराटनगर, २ वैशाख । एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले स्थानीय निर्वाचनका लागि एमालेले बैशाख ९ गतेभित्र अधिकांश उम्मेद्वारको अन्तिम नाम टुंगो लगाउने बताउनु भएको छ । सर्वसम्मत नै उम्मेदवारको नाम टुङ्गो लाग्दै गएको नेता कार्कीले बताउनुभयो ।
शुक्रबार विहान विराटनगरमा पत्रकारसँगको भेटघाटमा नेता कार्कीले पार्टी गठबन्धनको पक्षमा नरहेपनि केन्द्र तहमा राप्रपा नेपालसंगको तालमेललाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो । राजतन्त्र त्यागेर गणतन्त्रलाई आत्मसात गरेको राप्रपा नेपालको केही उम्मेदवारलाई एमालेले निर्वाचनमा स्थान दिने उहाँको भनाई छ ।
स्थानीय तहको निर्वाचन अन्र्तगत तल्लोतहमा एमाले र माओवादीबीच समेत तालमेल हुनसक्ने उहाँको भनाई छ । केन्द्रले स्थानीय तहको जिम्मेवारी स्थानीय तहलाई नै दिएको हुदाँ माओवादीसंग वडा÷पालिकामा तालमेलको संभावना रहेको नेता कार्कीको भनाई छ
प्रदेश १ का पूर्वमन्त्री समेत रहनु भएका कार्कीले प्रदेश सरकार पूर्णरुपमा असफल भएको दाबी गर्नुभयो । प्रदेश सरकारको संरचनाबारे जनतामा देखिएको नकारात्मक सोच र भावनालाई अहिलेको सरकारले थप बल पुर्याएको उहाँको आरोप छ । बजेटविहीन अनाश्यक मन्त्रालय थप, कर्मचारीबिहीन मन्त्री थप, थपेर जनतामाझ सरकार आलोचित बन्दै गएको उहाँको भनाई छ ।