विराटनगर २४ भदौ । विराटनगरमा आज देखि विपद् सम्वन्धि तीन दिने स्पेयर स्ट्यान्डर प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । विपद् व्यवस्थापन, विपद्बाट हुने मानवीय क्षति र क्षति भईसकेपछिको घटना व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिईने आयोजकले बताएको छ ।
विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने तालिमको उद्देश्य रहेको हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्को योजना तयारी गर्दा लक्षित वर्गका रुपमा गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरु रहेका छन् । तीन दिने स्पेयर स्ट्यान्डर प्रशिक्षक प्रशिक्षण तालिम कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको उहाँले बताउनुभयो । तालिमको सहजीकरणका लागि बंगलादेशबाट एमडी सारिफुल आलम र सविना यास्मीनले गर्ने भएका छन् ।
हर्ड नेपाल ( स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ) को आयोजनामा शुरु भएको तालिममा मोरङ र सुनसरीका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । मोरङ र सुनसरी विशेष गरि बाढी, पहिरो, महामारी, आगलागी लगायतका विपद्का बढी घटनाहरु हुने जिल्लाका रुपमा लिईने गरिएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, मोरङका सुनसरीका स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।