विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ ।
विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट अपरान्ह ४ वजे रथयात्रा शुरु गरिएको हो । लाखौं श्रद्धालु सहितको रथयात्राले मेन रोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड र बरगाछी हुँदै ९ किलोमिटरको दुरी पार गर्ने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो । उहाँका अनुसार ४३ स्थानमा विश्राम गर्दै सो दुरी पार गर्न करिव ५ घण्टा लाग्ने छ । श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट निकालिने गरिएको रथयात्रा वि.स. २०२५ सालदेखि शुरु भएको हो ।
रथयात्रा अघि खटयात्रा निकालिने गरिएको थियो । खटयात्रा वि.स. १९८८ देखि शुरु गरिएको थियो । विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको दोश्रो ठुलो विराटनगरकोलाई मान्ने गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत गरि लाखौं भक्तजनआउने गरेको उहाँले बताउनुभयो । रथयात्रा सम्पन्न गर्नका लागि १८ वटा उपसमितिहरुले काम गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । ५५ औं संस्करणको रथयात्रामा नेपाल र भारतका विभिन्न स्थानीय तहका प्रमुखहरुको पनि सहभागिता रहेको छ ।
यसैवीच रथयात्राका अवसरमा विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न अपराधिक गतिविधी समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिला (६ जना नेपाली, ३२ जना भारतीय) समेत गरी जम्मा ३८ जना ब्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।