विराटनगर, २ वैशाख । हक्कीका पूर्व अन्र्तराष्ट्रिय खेलाडी एवं प्रशिक्षक रञ्जन थापा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएकाछन्।
विराटनगर घर भएका पूर्वखेलाडी थापा बिहीबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानित हुने हक्कीका पहिलो खेलाडी हुन् । राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षकका रुपमा कार्यरत थापाले राज्यले सम्मान गर्दा गौरान्वित महसुस गरेको बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष समेत रहेका ५५ वर्षीय थापाले यसअघि हक्कीको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीवहन गरिसकेका छन्।
हक्कीको राष्ट्रिय प्रशिक्षक हुदैं विभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत थापाले सहभागिता जनाइसकेकाछन् । थापाले अन्र्तराष्ट्रिय डेब्यु २०५२ सालमा भारतको मद्रासमा सम्पन्न सातौ साफमा गरेका थिए। त्यसअघि, २०४२ सालमा वीरगञ्जमा सम्पन्न तेस्रो राष्ट्रिय खेलकुदबाट अघि बढेका थापा आठौ राष्ट्रिय हक्की प्रतियोगितासम्म मैदानमा खेलाडीका रुपमा उत्रिएका थिए। २०४५ सालमा विराटनगरमा सम्पन्न पाँचौ राष्ट्रिय हक्कीमा उनीसहितको तत्कालिन कोशी अञ्चलको टोली पहिलो भएको थियो । सो प्रतियोगितामा थापा सर्वोत्कृष्ठ खेलाडी भएका थिए ।
त्यसपछि थापाले प्रशिक्षकको जिम्मेवारवहन गर्दै आए। सो क्रममा २०७६ सालमा पाकिस्तानमा विश्व हक्की परिषद्द्धारा सम्पन्न एफआइएच हक्की सिरीजमा थापाको प्रशिक्षणमा नेपाली टोली समावेश रहेको थियो। अफगानिस्तान, कजाकिस्तान, उज्वेकिस्तानको सहभागिता रहेको सिरीजमा नेपाली टोली तेस्रो स्थानमा रह्यो । त्यसयता हक्कीको विश्व वरियतामा नेपाल ८८ औं स्थानमा रहेको छ । सोही वर्ष थापाकै प्रशिक्षकीय भूमिका नेपाली राष्ट्रिय महिला टोली थाईल्याण्डमा सम्पन्न एशियन इन्डोर हक्कीमा समावेश भयो ।
११ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाली महिला टोली सातौं स्थानमा रहेको थियो । हाल मुलुकमा महिलातर्फ सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता, जिपी कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता र राष्ट्रिय खेलकुद गरि मुख्य तीन वटा स्पर्धामा हक्की हुने गरेको छ ।
थापा हक्कीलाई चलायमान बनाउन सक्रिय रहेकाछन् । उनको संयोजकत्वमा चैत्रको दोस्रो साता विराटनगरमा जिपी कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको तेस्रो संस्करण आयोजना भएको थियो ।