विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ ।
मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला वीचमा अन्तरसंवाद कार्यक्रम गरिने भएको छ । दिवसका अवसरमा सचेतनामुलक सामग्रीहरु सामाजिक सञ्जाल तथा एफएम रेडियोहरुमा प्रसारण गरिने निर्णय भएको माईती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिनुभयो ।
जिल्ला समितिको बैठकमा प्रमुख पोखरेलले विराटनगर रानी नाकाबाट सन २०२२ मा १३७ जनालाई उद्धार गरिएको बताउनुभयो । उहाँले उद्धार गरिएका मध्ये सवैभन्दा बढी मोरङका रहेको बताउनुभयो । पोखरेलका अनुसार २०२३ को ८ महिनामा विराटनगर सीमा क्षेत्रबाट ११३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये मोरङका ४०, सुनसरी १८ र झापाका १० जना छन् ।
जिल्ला समितिको बैठकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा लगायतको सहभागिता रहेको थियो ।
विराटनगर रानी सीमावर्ती क्षेत्रमा माईती नेपाल सहित ४ वटा संस्थाहरुले मानव वेचविखन तथा ओसार पसार विरुद्धको अभियान सञ्चालन गर्दै आएका छन् ।