कोशी प्रदेशमा गठबन्धनको फोहोरी खेल : एमाले अध्यक्ष ओली

विराटनगर, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तागठबन्धनले फोहोरी खेल खेलेको बताउनु भएको छ । सरकार गठनमा गठबन्धन आबद्ध दलले संविधान तथा लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरिरहेको बताउनुभयो ।

कोशी प्रदेश कमिटीको सातौं पूर्ण बैठकलाई आज विराटनगरमा संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ सभामुखलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउनु गलत हो ।’ गठबन्धनले बलमिच्याइँ गरेर सरकार सञ्चालन गर्न खोजेको अध्यक्ष ओलीको भनाई छ । प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रीय गठबन्धन चुपचाप बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,‘अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ । तरपनि गठबन्धन दलहरु त्यसलाई स्वीकार्न चाहिरहेका छैनन् ।’ अध्यक्ष ओलीले प्रदेशको नाम कोशी उपयुक्त भएको दाबी गर्नुभयोे । गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ यहाँ सबै जातजाति किराँत, लिम्बूवान, मधेसी, थारु, शेर्पा सबैले न्याय पाउनुपर्छ ।’

कोशीको नामकरणमा ४ जना प्रदेशसभा सदस्य बाहेक सवैजना एकमत हुनु राम्रो पक्ष भएको अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोे,‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को ? उहाँलाई कसले रोक्छ, कसरी रोक्छ । हामी त उहाँलाई स्वागत गर्न चाहन्छौ ।’ अध्यक्ष ओलीले एमालेले विकास, परिवर्तन र रुपान्तरणको एजेन्डा लिएर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ एमाले बाहेकका पार्टीसँग विकास, परिवर्तन र रुपान्तरणको एजेन्डा छैन ।’ उहाँले एमालेमा अहिले गुटबन्दी नरहेको बताउनुभयो । पार्टी एक ढिक्का भएको अध्यक्ष ओलीको भनाई छ ।

आगामी असोज १२–१३ गते हुने कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशनमा कोशी प्रदेशको बर्तमान अवस्था, राजनीतिक शक्ति सन्तुलन, कोशी प्रदेशमा देखा परेको राजनीतिक तथा गैरराजनीतिक अवस्था लगायतबारे छलफल हुने अध्यक्ष ओलीले बताउनुभयो ।

प्रदेश अधिवेशनलाई लक्षित गरि विभिन्न उपसमितिहरु ग्ठन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिनुभयो ।