सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल

विराटनगर १० भदौ । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेले मोरङ क्षेत्र नंं २ का सांसद ऋषिकेश पोखरेललाई उम्मेवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा संसदीय समितिको सभापतिहरु आज चयन गरिदैछ । प्रमुख प्रतिपक्षी दलका सांसद रहने सार्वजनिक लेखा समितिको सभापतिमा एमालेले पोखरेललाई उम्मेदवार बनाउने भएको हो । १२ वटा संसदीय समितिहरु मध्ये सार्वजनिक लेखा समितिलाई शक्तिशाली मानिन्छ ।

लेखा समिति सभापतिमा सचिव योगेश भट्टराई र पूर्वमन्त्री गोकुल बास्कोटा पनि आकांक्षी थिए । तर एमाले अध्यक्ष केपी ओलीले यसअघि अवसर नपाएका पोखरेललाई बनाउने बताईसक्नु भएको छ । मोरङ अध्यक्ष समेत रहनु भएका पोखरेल दोश्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।

प्रमुख तीनदलहरुवीच भएको सहमति अनुसार एमालेको भागमा परेको महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । रौतहट २ बाट स्वतन्त्र जितेका उनले एमाले प्रवेश गरेका थिए । स्रोतका अनुसार उनलाई राज्यमन्त्री बनाउने आश्वासनसहित पार्टी प्रवेश गराइएको थियो । तर एमाले आफैं सरकारबाट बाहिरिएपछि उनलाई संसदीय समितिको सभापति बनाउन लागिएको हो ।

एमालेको भागमा परेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको टुंगो भने लागेको छैन ।

को हुन एमाले सांसद पोखरेल ?
२०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्यनरत छँदै सो विद्यालयमा अनेरास्ववियुको प्रारम्भीक कमिटि अध्यक्ष भएर राजनीतिमा लागेका थिए । त्यसपछी इटहरा माविबाट एस. एल. सी उतिर्ण भएका उनी सो विद्यालयमा अध्यनरत रहँदा अखिलको प्रारम्भीक कमिटिको सचिव रहेर काम गरे ।

पोखरेल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अखिलको प्रारम्भीक कमिटि अध्यक्ष हुँदै०४६ सालको आन्दोलनमा आन्दोलन परिचालन कमिटिको सचिव भएपछी अग्र मोर्चामा रहेर आन्दोलनको कमाण्ड सम्हालेका थिए ।

विद्यार्थी संगठन अखिलको जिल्ला कमिटि उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य समेत भए भने २०५२ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको स्ववियू सभापति हुदै स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बनेका थिए ।

विद्यार्थी राजनीति पछि पार्टी जिल्ला कार्यालय सचिव भएर पूर्णकालिन रुपमा पार्टी काममा होमिएका पोखरेल पाँच कार्यकाल नेकपा (एमाले) मारङको जिल्ला कमिटि सदस्य भए । पार्टीको २ कार्यकाल सचिव भएर काम गरेका पोखरेल अहिले जिल्ला अध्यक्ष छन् । माओवादी केन्द्रसँग पार्टी एकता पश्चात बनेको तत्कालिन नेकपा मोरङको अध्यक्ष भएर काम गरेका पोखरेल २०७८ साल पुस २३ र २४ गते विराटगरमा सम्पन्न एमाले मोरङको नवौँ अधिवेशनबाट उनी एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

किसान, मधेशी, महिला, दलित, मुस्लीम, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालमा आवाज उठाउने मात्र नभई आफ्नो क्षेत्रका समस्या र जनताका मागहरु खरोरुपमा प्रस्तुत गर्ने पोखरेल राजनीतिक ‘स्टन्ट’ र प्रचारमुखि भन्दा पनि जनताको प्रतिनिधिका रुपमा कामप्रती विश्वास गर्छन् ।